काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि केन्द्रीय कार्यसमिति बैठकको मिति तय हुनासाथ उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्। यद्यपि, पार्टीले उनको राजीनामा अझै सार्वजनिक गरेको छैन।
भोलिका लागि बोलाइएको केन्द्रीय समितिको बैठकअघि नै थापाले राजीनामा बुझाएका हुन्। चैत ६ गते बस्ने उक्त बैठकमा सभापतिको राजीनामाबारे औपचारिक छलफल हुने बताइएको छ।
यसअघि पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियो। तर, उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन अवस्थामा छ।
महाधिवेशनको आयोजनामा असहमति जनाउने नेताहरूले समेत नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। देउवा पक्षको असहमतिका बीच तत्कालीन महामन्त्रीद्वय थापा र शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशन आह्वान गरेका थिए।
पार्टी विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया