एजेन्सी । मध्यपूर्वमा इरान र अमेरिका–इजरायलबीच जारी युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा अमेरिकी प्रशासनले थप सैनिक परिचालन गर्ने विषयमा गम्भीर रूपमा विचार थालेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘अपरेसन एपिक फ्युरी’लाई अझ प्रभावकारी बनाउन तथा इरानका रणनीतिक क्षेत्रहरूमा नियन्त्रण सुदृढ गर्ने उद्देश्यले स्थलीय सेना पठाउने विकल्पमाथि ह्वाइट हाउसमा छलफल भइरहेको छ।

advertisement

यस सम्भावित कदमको मुख्य लक्ष्य इरानको करिब ९० प्रतिशत तेल निर्यात हुने खार्ग टापु नियन्त्रणमा लिनु र हर्मुज जलडमरू हुँदै हुने तेल ढुवानीलाई सुरक्षित बनाउनु रहेको बताइएको छ।

सैन्य विश्लेषकहरूका अनुसार खार्ग टापुलाई नष्ट गर्नु भन्दा नियन्त्रणमा लिनु आर्थिक र रणनीतिक दृष्टिले बढी लाभदायक हुन सक्छ, यद्यपि यस्तो अभियान अत्यन्त जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ।

यस्तै, इरानको उच्च संवर्धित युरेनियम भण्डारलाई सुरक्षित राख्न अमेरिकी विशेष सैन्य दस्ताको परिचालन गर्ने विषयमा पनि छलफल भइरहेको जनाइएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको यस युद्धमा अमेरिकाले हजारौँ हवाई आक्रमण गरिसकेको छ, जसबाट इरानी जलसेनाका धेरै जहाजहरू ध्वस्त भएका छन्। यस अवधिमा १३ अमेरिकी सैनिकको ज्यान गएको र करिब २०० जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानमा विदेशमा युद्धमा नफस्ने प्रतिबद्धता व्यक्त गरे पनि हालको अवस्थालाई मध्यनजर गर्दै इरानको ब्यालिस्टिक मिसाइल क्षमता तथा सम्भावित आणविक खतरा अन्त्य गर्न स्थलीय सेना प्रयोग गर्ने विकल्पलाई पूर्ण रूपमा नकारेका छैनन्।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com