काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापा को राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिँदै उनले थापाको राजीनामा स्वीकार गर्न नहुने स्पष्ट संकेत गरेका हुन्।
शर्माले थापाले पराजयको नैतिक जिम्मेवारी लिन खोज्नु सकारात्मक पक्ष भए पनि वर्तमान अवस्थामा नेतृत्वको मुख्य जिम्मेवारी स्थिति सम्हाल्ने र पार्टीलाई मार्गदर्शन गर्ने रहेको बताएका छन्।
उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठकमा प्रारम्भिक समीक्षा, थापाको राजीनामा पत्रबारे जानकारी तथा सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरिनेछ।
उनले संकट समाधानका लागि सक्रिय रूपमा लागिरहेको व्यक्तिलाई नै दोषारोपण गर्नु उचित नहुने उल्लेख गर्दै आगलागी नियन्त्रण गर्न खटिएको व्यक्तिलाई नै आगलागीको जिम्मेवार ठहर गर्नु न्यायसंगत नहुने तर्क गरेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ३८ सिटमा मात्र जित हासिल गरेपछि नेतृत्वमाथि प्रश्न उठिरहेका बेला शर्माको यो धारणा सार्वजनिक भएको हो।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया