काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मृत्युबारे फैलाइएको हल्ला झुटो भएको स्पष्ट पार्दै आफू सकुशल रहेको बताएका छन्।
बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै बेन्जामिन नेतन्याहुले आफू जीवित रहेको प्रमाण दिएका हुन्।
सम्मेलनको सुरुवातमै उनले भने, ‘सबैभन्दा पहिले म स्पष्ट भन्न चाहन्छु—म जीवित छु र तपाईंहरू सबै यसको साक्षी हुनुहुन्छ। साथै, म फैलाइएका सबै झुटा समाचारहरूको खण्डन गर्दछु।’
पछिल्लो समय सामाजिक सञ्जालमा उनको मृत्यु भएको दाबी गर्दै विभिन्न भ्रामक सामग्रीहरू व्यापक रूपमा फैलिएका थिए। यिनै अफवाहलाई चिर्न उनले सञ्चारमाध्यमसमक्ष प्रत्यक्ष रूपमा उपस्थित भएका हुन्।
उनले अमेरिका र इजरायलबीचको सहकार्य थप मजबुत रूपमा अघि बढिरहेको पनि बताए।
यसअघि मार्च १३ मा उनको आधिकारिक एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको भिडियोसमेत विवादमा परेको थियो। उक्त भिडियोमा उनी इरानको आक्रमणबारे जानकारी दिँदै देखिएका थिए।
तर, केही प्रयोगकर्ताहरूले उक्त भिडियो कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत बनाइएको भन्दै शंका व्यक्त गरेका थिए र उनको मृत्यु भएको दाबी गरेका थिए।
पछि इजरायली प्रधानमन्त्री कार्यालयले ती सबै दाबी निराधार रहेको स्पष्ट पार्दै नेतन्याहु सकुशल रहेको जनाएको थियो।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया