काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकामा जनआस्था कायम राख्न र संस्थागत सुधारका लागि ‘बार र बेन्च’ बीच निरन्तर संवाद आवश्यक रहेको बताएकी छन्।
शुक्रबार भक्तपुरमा आयोजित कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै न्यायाधीश सपना प्रधान मल्लले आगामी चैत १८ गतेदेखि बार र बेन्चबीचको संवादलाई निरन्तरता दिने घोषणा गरिन्। यसमार्फत न्याय सम्पादनमा देखिएका अवरोध हटाउन मद्दत पुग्ने उनको विश्वास छ।
न्यायपालिका अहिले जटिल परिस्थितिसँग जुधिरहेको र संकट व्यवस्थापनको योजनाबाट गुज्रिरहेको स्वीकार गर्दै न्यायाधीश मल्लले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिइन्। उनले न्यायाधीश नियुक्ति प्रक्रियामा उठ्ने प्रश्नहरूको समाधान पारदर्शी, क्षमता आधारित र राजनीतिक हस्तक्षेपमुक्त ढंगले हुनुपर्ने बताइन्।
अदालतमा महिलाहरूको सहभागिता बढ्दै गए पनि उनीहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाइने गरेकोमा न्यायाधीश मल्लले असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, ‘पुरुष न्यायाधीश वा कानून व्यवसायीको क्षमता प्रायः प्रश्नमा पर्दैन, तर महिलाले प्रत्येक दिन आफ्नो सक्षमता प्रमाणित गर्नुपर्छ।’
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया