काठमाडौं । वर्षासँगै परेको चट्याङका कारण गुल्मीका विभिन्न स्थानमा छ जना घाइते भएका छन्।
मालिका गाउँपालिका–२ दर्लिङमा दिउँसो परेको चट्याङले स्थानीय ३२ वर्षीय गोमा खड्का, २८ वर्षीय निरु खड्का र २९ वर्षीय विष्णु खड्कालाई चोट पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको छ। उनीहरूलाई मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको छ।
घटनामा स्थानीय विष्णु खड्काका एक र बाली विकका दुई गरी तीनवटा बाख्रासमेत मरेका छन्। प्रहरी चौकी पौँदीअमराईबाट नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो।
त्यसै दिन दिउँसो मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङमा ६४ वर्षीय नारायण थापा, उनका नातिनी तीन वर्षीया आस्मा गिरी र छ वर्षीया आशिका गिरी घाइते भएका छन्। सूचना अधिकारी सारुका अनुसार उनीहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन्।
प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया