काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई अझ मजबुत र सुदृढ बनाउने बताएका छन्।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–फित्रका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले उक्त पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले सन्देशमा भनेका छन्, “यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति, भाइचारा र व्यापक राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।”
इद–उल–फित्र मुस्लिम समुदायले रिस, राग र द्वेषलाई भुलेर आपसमा खुसी साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने पर्व हो। यस दिन विशेष नमाज अदा गरेपछि एकअर्कालाई आशीर्वाद लिने–दिने चलन छ भने मिष्ठान्न परिकार खाने र खुवाउने परम्परा पनि रहिआएको छ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार












प्रतिक्रिया