काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हाल सम्पन्न निर्वाचन शान्तिपूर्ण भए तापनि यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताबारे छानबिन हुनु आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो माग राखेका हुन्।

साहले निर्वाचन आयोग र सरकारको भूमिकामा प्रश्न उठाउँदै निर्वाचन आचारसंहिता उल्लङ्घन हुँदा पनि मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नु गम्भीर कमजोरी भएको बताए।

advertisement

उनी मिडिया र सामाजिक सञ्जालमा निष्पक्षताको अभावप्रति पनि चिन्ता व्यक्त गरे। फेक आइडीको दुरुपयोग र मिडियाको एकपक्षीय प्रचार नियन्त्रण गर्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको साहको भनाइ छ।

पूर्वमन्त्री प्रभु साहले मधेसी दलितको प्रतिनिधित्व नहुनुलाई संविधान र व्यवस्थाको कमजोरीको प्रमाण ठहर गर्दै भने, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा जनसंख्याअनुसार एक जना पनि मधेसी दलित प्रतिनिधि नहुनु unacceptable हो। यसका लागि पार्टीले निरन्तर संघर्ष गर्नेछ।’ उनले निर्वाचन आयोगसँग यसबारे स्पष्ट जवाफ मागेको समेत बताए।

यसैगरी साहले हालै आएको हावाहुरी, असिना र वर्षाका कारण देशभरका गहुँ, मकै, केरा, आँप, लिची लगायतका बालीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानहरूलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग राखेका छन्।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com