काठमाडौं । नव निर्वाचित प्रतिनिधि सभा सदस्य राजीव खत्री ले आफू मन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्। भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्री ले पार्टीले जिम्मेवारी दिए नभाग्ने तर मन्त्री पदका लागि प्रयास नगर्ने बताए ।

शनिबार भक्तपुरमा नेपाल प्रेस सोसाइटी सूर्यविनायकले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले राजनीतिमा मन्त्री बन्न नभई देशका लागि काम गर्न आएको उल्लेख गरे। “मन्त्री बन्नका लागि अरूजस्तै लाइनमा लाग्दिनँ,” उनले भने। साथै, मन्त्रीका लागि सिफारिस गराउन कसैसँग कुनै संवाद नभएको पनि उनले स्पष्ट पारे।

advertisement

कार्यक्रममा भक्तपुरबाट निर्वाचित अन्य सांसदहरूले जिल्लाका साझा समस्या समाधानका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सांसदहरू रुकेश रञ्जित, कुसुम महर्जन, मदनकृष्ण श्रेष्ठ तथा डा. गङ्गालक्ष्मी अवालले विकास, सुशासन र जनताको आधारभूत आवश्यकतामा केन्द्रित हुने बताएका थिए।

यसै अवसरमा हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले सांसदहरूले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउनुपर्ने र विगतका भ्रष्टाचारका घटनाको छानबिन गर्न पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम सोसाइटीका उपाध्यक्ष दिपेन्द्रराज खत्रीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष अरुण महतले राखेका थिए। कार्यक्रमको सभापतित्व अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com