काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग र सबैका लागि समान पहुँच सुनिश्चित गर्न सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकबीच सहकार्य, समन्वय र दृढ प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
विश्व पानी दिवस २०२६ (२२ मार्च) का अवसरमा शुभकामना सन्देश दिँदै उनले खानेपानी व्यवस्थापनका सबै तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो। मानव सभ्यताको विकासदेखि नै पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गर्दै आएको छ। प्राचीन सभ्यताहरू नदी किनारमा विकसित भए भने आजको समयमा प्रकृति र पानीको संरक्षण गर्नु झन् चुनौतीपूर्ण बन्दै गएको छ।”
राष्ट्रपतिले भूमिगत जलस्रोतलाई महत्त्वपूर्ण प्राकृतिक सम्पदा उल्लेख गर्दै यसले पारिस्थितिकीय सन्तुलन कायम राख्न, नदीको बहाव व्यवस्थित गर्न, जलवायु परिवर्तनको असर कम गर्न र सुरक्षित पिउने पानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। तर बढ्दो सहरीकरण, पूर्वाधार निर्माण, प्रदूषण र जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उनको भनाइ छ।
सन्देशमा भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध आएको, जसले जमिनमुनिको पानीको सतह घट्दै गएको उल्लेख छ। साथै, अव्यवस्थित बसोबास र बढ्दो औद्योगीकरणका कारण जलस्रोत प्रदूषित हुँदै गएकोमा पनि चिन्ता व्यक्त गरिएको छ।
भविष्यमा आउनसक्ने जलसङ्कटलाई ध्यानमा राख्दै उनले जलाधार क्षेत्रको संरक्षण, भूमिगत पानीको पुनर्भरण तथा ग्रामीण क्षेत्रमा आहाल, पोखरी र तालतलैयाको निर्माणजस्ता परम्परागत उपायहरूको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाइँदै आएको छ। नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ भन्ने सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया