काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै पौडेलले यसले आशङ्का जन्माएको जिकिर गरेका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशङ्का र उपशङ्का जन्माएको छ, सामाजिक सञ्जालमा उनले भने ।

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन भन्दै उनले यसले यक्ष प्रश्न खडा भएको बताए । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ?,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

advertisement

महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् ।

‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com