काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानसँग सम्बन्धित सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरेका छन्। पारदर्शिता कायम गर्ने उद्देश्यले उनले सामाजिक सञ्जालमार्फत अभियानमा प्राप्त सहयोग र भएको खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।
ढकालका अनुसार चुनावी अभियानका लागि कुल २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग संकलन भएको थियो। सोही अवधिमा प्रचारप्रसार तथा अन्य गतिविधिमा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च कटाएपछि २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको उनले जानकारी दिएका छन्। उक्त रकम व्यक्तिगत प्रयोजनमा प्रयोग नगरी गुल्मीको विकास र देशको हितका लागि लगानी गरिने उनले घोषणा गरेका छन्।
बाँकी रकम सामाजिक तथा रचनात्मक कार्यहरूमा उपयोग गरिने स्पष्ट पार्दै सागर ढकालले मतदाता र सहयोगदाताप्रति कृतज्ञता व्यक्त गरेका छन्। साथै, आफू सधैँ जनताको सेवामा समर्पित रहने प्रतिबद्धता समेत उनले दोहोर्याएका छन्।

प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया