काठमाडौं । कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कुश्माबजारबाट युरिया मल बोकेर फलेवासतर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको जिप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियार गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जिपमा चालक परियार मात्र सवार थिए। उनलाई उद्धार गरी प्रदेश अस्पतालतर्फ ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रहरीका अनुसार वर्षाका कारण सडक चिप्लो भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। सशस्त्र प्रहरी बल चण्डिका गण र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन परिस्थितिमा उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बल उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया