काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएको नगद रकमबारे गम्भीर र कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै नेपाली कांग्रेसका सभापति थापाले भदौ २४ गते भएको घटनामा सार्वजनिक भएका पैसासम्बन्धी विषयलाई केवल चर्चाको विषय बनाउने होइन, निष्पक्ष अनुसन्धानमार्फत स्पष्ट निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।

advertisement

उनले भने, ‘आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएको भनिएको पैसाको विषयलाई कानुनी प्रक्रियाअनुसार गहिराइमा पुगेर अनुसन्धान गर्नुपर्छ। यो विषय केवल सार्वजनिक बहसका लागि मात्र होइन, सत्यतथ्य पत्ता लगाएर निष्कर्ष निकाल्ने हो।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते शेरबहादुर देउवा को बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीहरूले आगजनी गरेका थिए। उक्त घटनामा देउवा र आरजु राणा देउवा माथि समेत आक्रमण भएको थियो। आगजनीका क्रममा त्यहाँ ठूलो परिमाणमा नगद जलेको देखिने भिडियोहरू सार्वजनिक भएका थिए।

त्यस्तै, कांग्रेस नेता दीपक खड्का को बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो, जहाँबाट समेत नगद जलेको दृश्य सार्वजनिक भएको थियो।

सभापति थापाले यस्ता घटनाले उठाएका प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै अख्तियारको दुरुपयोग तथा नीतिगत भ्रष्टाचारजस्ता विषयमा पनि तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको बताए।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com