काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ ले आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
काठमाडौंमा पत्रकारसँग कुरा गर्दै उनले जनताले आफ्नो पार्टीलाई सरकारमा जाने नभई प्रतिपक्षमा बसेर काम गर्ने म्यान्डेट दिएको बताएका हुन् । जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने जिम्मेवारी दिएका छन्, हामी त्यही अनुसार काम गर्छौँ, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुन प्रस्ताव गरे के गर्ने भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा अस्वीकार गर्दै सरकारमा नजाने बताएका छन् ।
उनले राम्रो काममा सधैं समर्थन गर्ने र गलत कामको निरन्तर विरोध गर्ने नीति रहेको पनि बताए । “हामी राम्रो कामलाई साथ दिन्छौँ, नराम्रो कामको सधैं विरोध गर्छौँ,” उनले भने ।
यसैबीच, साम्पाङले रास्वपाबाट बालेन शाह भन्दा रवि लामिछाने प्रधानमन्त्री बन्नुपर्ने आफ्नो अडान पुनः दोहोर्याएका छन् ।
उनले प्रधानमन्त्री यस्तो व्यक्ति हुनुपर्ने बताए जो प्रतिपक्षले उठाएका प्रश्नहरूको समयमै जवाफ दिन सक्षम होस् । “प्रतिपक्षले सोधेका प्रश्नको उत्तर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनुपर्छ,” उनले भने ।
हर्क साम्पाङ ले आफ्नो पार्टीलाई जनताले प्रतिपक्षको भूमिकामा राखेको उल्लेख गर्दै संसदमा प्रश्न उठाउने र जवाफ माग्ने कामलाई प्राथमिकता दिने बताए ।
निर्वाचनअघि आफू प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएको विषयमा स्पष्ट पार्दै उनले त्यो राजनीतिक अभिव्यक्ति मात्र भएको बताए । अन्य नेताहरूले पनि प्रधानमन्त्री बन्ने कुरा गरेका छन्, तर अन्तिम निर्णय जनताले गर्छन्, उनले भने ।
उनले जनताको मतभन्दा आफ्नो व्यक्तिगत अभिव्यक्ति ठूलो नहुने उल्लेख गर्दै आफू जनताको निर्णयप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया