काठमाडौं । यहाँको गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–५ बस्ने २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन्।
सोमबार राति गोलबजार–४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका अनिल चौधरीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट एक ग्राम खैरो हेरोइन फेला पारेको थियो। प्रहरीसँगको सोधपुछका क्रममा चौधरीले उक्त पदार्थ आफूलाई बलिराम महतोले बिक्री गर्न दिएको बयान दिएका थिए।
चौधरीको बयानका आधारमा प्रहरी टोली राति नै बलिराम महतो बसिरहेको निपानेस्थित उनको ससुराली घर पुगेको थियो। घर खानतलासी गर्दा दराजमा लुकाइछिपाइ राखेको अवस्थामा १० ग्राम २५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीले महतोको साथबाट नगद रु २० हजार ३१०, ओप्पो मोबाइल एक थान, चुरोट पाँच थान, लाइटर दुई थान र ब्लेडका टुक्रा दुई थानसमेत बरामद गरेको छ। दुवै जनाको साथबाट जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन बरामद गरी उनीहरूलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार













प्रतिक्रिया