काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बुधबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले आयोगले प्रतिवेदन बुझाइसक्दा पनि सरकारले हालसम्म सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाउँदै ढिलाइ नगरी सार्वजनिक गर्न आग्रह गरे।
महामन्त्री पौडेलले वर्तमान सरकारको म्यान्डेट नै निर्वाचन र ती घटनाको छानबिनसँग जोडिएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक नगर्दा विभिन्न आशंका उत्पन्न भएको बताए। उनले आयोगले घटनाबारे गहिरो अनुसन्धान गरेको विश्वास व्यक्त गर्दै दोषी ठहरिएका व्यक्तिमाथि कानुनी कारबाही हुनुपर्ने धारणा राखे। साथै, प्रतिवेदनबारे अनावश्यक अड्कलबाजी नगर्न पनि उनले आग्रह गरे।
यसैबीच, उनले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा विद्यमान कानुनहरूमा आवश्यक संशोधनका लागि बन्ने नयाँ सरकारलाई आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी, लिपुलेक र लिम्पियाधुराजस्ता संवेदनशील सीमा विवादका विषयमा राज्यले कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याए।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया