काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नकेपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गतेको घटनामा आन्तरिक तथा बाह्य घुसपैठ भएको सम्भावना औंल्याएका छन्।

जाँचबुझ आयोगसमक्ष दिएको बयानमा उनले भदौ २३ गतेदेखि नै आन्दोलनमा घुसपैठ भएको आशंका युवाहरूले व्यक्त गरेको उल्लेख गर्दै त्यसपछि भएका घटनाक्रमले गलत तत्वहरूले युवाहरूको भावनाको दुरुपयोग गरेको संकेत गरेको बताएका छन्।

advertisement

प्रचण्डका अनुसार भदौ २३ गतेको प्रदर्शन युवाहरूको आक्रोशको अभिव्यक्ति जस्तो देखिए पनि २४ गते आइपुग्दा आन्दोलनको स्वरूप फेरिएको र नियोजित रूपमा त्यसलाई हिंसात्मक दिशातर्फ मोडिएको निष्कर्षमा आफू पुगेको बताएका छन्।

उनले भदौ २४ गते काठमाडौंस्थित आफू बस्दै आएको भाडाको घर तथा चितवनको निवासमा तोडफोड, आगजनी र लुटपाट भएको जानकारी दिँदै काठमाडौंमा आफ्नो निजी घर नभएको स्पष्ट पारे। साथै, उनकी छोरी गंगा दाहालको घरमा अवैध नगद भेटिएको भन्ने प्रचार पूर्णतः निराधार रहेको उनको दाबी छ।

प्रचण्डले सो दिन सिंहदरबार, शीतल निवास, संसद् भवन, सर्वोच्च अदालतलगायत सरकारी तथा निजी संरचनाहरूमा भएको तोडफोड र आगजनीलाई केवल सरकारविरुद्धको आक्रोश मात्र नभई समग्र राज्य व्यवस्थामाथि लक्षित योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गरेका छन्।

उनले आफ्नो पार्टीले जेनजेड आन्दोलनका माग र भावनालाई समर्थन गरे पनि कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारे। साथै, पार्टीसँग सम्बद्ध कुनै व्यक्तिले कानुनविपरीत कार्य गरेको पुष्टि भए त्यसलाई कानुनी दायरामा ल्याइनुपर्नेमा आफूहरू स्पष्ट रहेको उनले बताएका छन्।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com