काठमाडौं। नेपाली कांग्रेका प्रवक्ता देवराज चालिसेले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल अघि बढाइने बताएका छन्।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासन र संविधान संशोधनलाई कांग्रेसले प्राथमिकतामा राखेको बताएका हुन्।

advertisement

उनले भने, ‘संविधान संशोधनका लागि अग्रसरता हामीले नै लिएका हौं। यसको स्वामित्व र विकास पनि हाम्रो नेतृत्वमा हुन्छ। त्यसैले यसलाई सर्वपक्षीय छलफलमार्फत अघि बढाउने निर्णय गरेका छौं। जनताको चाहनाअनुसार संविधानलाई समयअनुकूल परिमार्जन गर्दै लैजानुपर्छ।’

प्रवक्ता चालिसेले बैठकले नवनिर्वाचित सरकारलाई बधाई दिँदै सुशासन र प्रगतितर्फ सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको पनि बताए। साथै कांग्रेस जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने उल्लेख गर्दै सत्तामा हुँदा र विपक्षमा हुँदा फरक भाषा प्रयोग नगर्ने स्पष्ट पारे।

‘नवनिर्वाचित सरकार भोलीदेखी निर्माण हुँदैछ। नवनिर्वाचित दललाई नेतृत्वलाई बधाई दिएका छौ। देश सुशासन र प्रगतिको तर्फमा सरकारको सफलता मिलोस् भन्ने हाम्रो शुभकामना हो। हामी जिम्मेवार प्रतिपक्ष हौ, हामी सत्तामा हुँदा एउटा भाषा र विपक्षमा हुँदा एउटा भाषा होइन,’ उनले भने।

उनले पार्टीका प्रतिज्ञापत्र साझा एजेण्डाका रूपमा रहेको विश्वास व्यक्त गर्दै देशको विकास र उन्नतिका लागि सकारात्मक सहयोग रहने बताए।

उनले भने, ‘हाम्रा पनि प्रतिज्ञापत्रहरु छन् ती साझा प्रतिज्ञा हुन्। देशलाई उन्नत बनाउँदै लाने कुरामा हाम्रो पनि सकरात्मक सहयोग हुन्छ।’

पार्टी सुदृढीकरणका लागि महाधिवेशन प्रक्रिया तत्काल सुरु गरिएको जानकारी दिँदै उनले प्रेम बहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताए।

त्यसैगरी भातृ संस्थाहरूलाई कागजमा मात्र नभई व्यवहारमा सक्रिय बनाउनुपर्नेमा जोड दिँदै संगठनलाई समयसापेक्ष र व्यवस्थित ढंगले विस्तार गर्न अध्ययन तथा सुझावका लागि महामन्त्रीहरूको संयोजकत्वमा प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com