काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री चयन प्रक्रियालाई तीव्र बनाउँदै रातभरिमै टुंगो लगाउने तयारी गरेको छ। यसैबीच पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सभामुख छनोटका विषयमा नेतृत्वमाथि विश्वास गर्न सांसद र केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन्।
बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा लामिछानेले मन्त्री चयनमा ‘लबिइङ’ नगर्न स्पष्ट सन्देश दिएका थिए। उनले योग्यता र क्षमता आधारमा नेतृत्वले नै उचित निर्णय गर्ने विश्वास दिलाए।
बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। सोही बैठकमा सभापति लामिछानेले शाहलाई संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए, जसलाई केन्द्रीय समिति र संसदीय दलले सर्वसम्मत रूपमा अनुमोदन गरेको जानकारी प्रवक्ता मनिष झाले दिए।
संयुक्त बैठकमा बोल्दै लामिछानेले मन्त्री र सभामुख चयनको जिम्मा नेतृत्वलाई दिनुपर्नेमा जोड दिए। “नेतृत्वलाई विश्वास गरेर जिम्मा दिनुस्, हामी विज्ञता र क्षमताका आधारमा निर्णय गर्छौं,” बैठकमा उनको भनाइ उद्धृत गर्दै एक सहभागी नेताले बताए।
रास्वपाले सरकार गठनको सन्दर्भमा आन्तरिक तयारी तीव्र बनाउँदै योग्य व्यक्तिको छनोटमार्फत प्रभावकारी नेतृत्व प्रस्तुत गर्ने संकेत दिएको छ।
प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया