१३ चैत्र २०८२, शुक्रबार


मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको छ ।

उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।त्यस्तै बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् । उनको शपथ अघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ ।

advertisement

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com