काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।

advertisement

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। उक्त समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा उच्च सरकारी अधिकारीलाई निमन्त्रणा दिइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही दलले बिहीबार नेता शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो।

त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका थिए। बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

 

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com