काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरी ले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएकी छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली आयोजित कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा भएको चुनावपछि गठन भएको नयाँ सरकारले सबै खाले समस्या समाधान गरी देश बनाउन चाहेकाले त्यस अभियानमा सहयोग गर्न आग्रह गरिन् ।
मन्त्री गीता चौधरी ले भनिन्- यस पटकको सरकार विगतका भन्दा फरक छ, जनताले पाँच वर्ष सरकार चलाउन बहुमत दिएर पढाउनुभएको छ । सरकारले समस्याको पहिचान गरी तत्कालीन र दीर्घकालीन कार्यक्रम बनाएर प्राथमिकता निर्धारण गर्छ, त्यसका आधारमा मिलेर काम गर्नुपर्छ ।
कृषि क्षेत्रका सबैभन्दा ठूलो समस्या रासायनिक मलको रहेको जनाउँदै मन्त्री चौधरीले कृषिप्रधान देशमा किसानले मल नै पाउँदैनन् भने त्योभन्दा ठूलो विडम्बना केही नहुने बताइन् । यसअघि मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा.राजेन्द्रप्रसाद मिश्रले बजेट, रासायनिक मल, दूधको मूल्य र कृषि तथा पशुपन्छी बिमा भुक्तानी, अनुदान व्यवस्थापन, बाँझो भूमि, समन्वय समस्या, सिँचाइ, कृषि कर्जा, लगानीलगायतका विषयमा जानकारी गराएका थिए ।
उनीहरुले मुख्य खाद्यन्न बालीका अतिरिक्त उखु, केरा, चिया, कफिलगायत तरकारी विशेषका लागि थप रासायनिक मल प्राप्तिमा समस्या देखिएको बताए । देशमा वार्षिक रुपमा सात लाखदेखि आठ लाख मेट्रिकटन मल आवश्यक पर्नेमा त्यसका लागि रु ५० अर्ब बजेट आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया