काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरेर पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिकार कमजोर पार्ने षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।
आफूलाई पक्राउ गर्न प्रहरी परिचालन भइरहेको समाचार बाहिरिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भनेका छन्, “मलाई गिरफ्तारी गरेर हाम्रो अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिशोधात्मक कारबाहीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको छ।”
बस्नेतले आफूलाई फसाउन तीन वर्षअघि नै अघि सारिएको र अदालतबाट खारेज भइसकेको मुद्दा फेरि उठाइएको आरोपसमेत लगाएका छन्। उनका अनुसार, “तीन वर्षअघि एक फेक व्यक्तिलाई प्रयोग गरेर मेरोविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाटै फर्जी प्रमाणित भइसकेको छ। सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिट पनि अदालतले खारेज गरिसकेको थियो।”
उनले थपे, “अहिले पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन बनाइएको छ। फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रोपटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाइएको छ र मिडिया ट्रायलसमेत भइरहेको छ।”
यस सम्पूर्ण घटनालाई उनले ‘सरकारको षड्यन्त्र’ भन्दै आलोचना गरेका छन्। बस्नेतले बालेन शाह नेतृत्वको सरकार र गृहमन्त्री सुधन गुरुङमाथि अधिनायकवादी शैली अपनाएको आरोप लगाउँदै यस्तो कार्यको प्रतिफल सरकारले भोग्नुपर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया