काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस खुवाउनु नपर्ने, प्रशासनिक झन्झटमा लाइन बस्नु नपर्ने र फौजदारी अभियुक्त जस्तो थुनिनु नपर्ने अवस्था सिर्जना गर्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक होइन, सहयात्री बन्ने बताए ।

advertisement

उनले भने, “म घुस खान आएको होइन र कसैलाई घुस खान पनि दिन्नँ । म अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको हुँ । अब निजी क्षेत्रलाई कुनै पनि बहानामा दुःख दिइने छैन ।”

व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले व्यावसायिक कसुरमा थुन्ने पुरानो प्रचलनको अन्त्य गर्ने घोषणा गरे । उनले अब आर्थिक बेइमानीका मामिलामा सरकारले जरिवाना (आर्थिक दण्ड) को नीति अपनाउने बताए ।

“उद्योगी–व्यापारीहरूलाई सानातिना प्राविधिक वा आर्थिक विषयमा थुनिनु पर्दैन । हामी दण्डको स्वरूप नै बदल्छौं,” वाग्लेले भने ।

अर्थमन्त्रीले उद्योगीहरूलाई लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र देश निर्माणमा केन्द्रित हुन आग्रह गरे । उनले सरकारले निजी क्षेत्रलाई साथी र सहयात्रीको रूपमा हेरेको उल्लेख गर्दै निजी क्षेत्रबाट पनि पूर्ण इमानदारिताको अपेक्षा गरिएको स्पष्ट पारे ।

“राज्य साथी बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ,” मन्त्री वाग्लेले चेतावनी दिँदै थपे, “तर कसैले नियतवश वा नियोजित रूपमा बेइमानी गर्छ भने सरकार त्यस्ताको विरुद्ध निर्मम रूपमा प्रस्तुत हुनेछ ।”

भेटघाटका क्रममा उद्योगी–व्यापारीहरूले हालको आर्थिक मन्दी र नीतिगत अस्पष्टता हटाउन जोड दिएका थिए । जवाफमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा सुधारको नयाँ युग सुरु हुने आश्वासन दिएका छन् ।

उनले सुशासनलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको समेत दोहोर्‍याए ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com