काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग लगातार छलफल जारी राखेका छन्। सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग बैठक गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटघाट गरेका छन्।
बैठकमा एमाले सांसद ऐनबहादुर महरसहितका सांसदहरूले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग उठाएका थिए।
एमाले सांसद महरले कर्मचारीतन्त्रमा देखिएको समस्या र व्यवस्थापनको कमजोरीका विषयमा सुधारको आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीसँग सुझाव दिएका थिए। यसमा बालेनले जवाफ दिँदै भने, ‘यसको जड त तपाईंहरू नै हुनुहुन्छ। कांग्रेस र एमालेले नै सुधारको पहल गर्नुपर्छ।’
त्यस्तै, गेटा अस्पतालको निर्माणसम्बन्धी विषयमा सांसदहरूले उठाउँदा प्रधानमन्त्रीले यसको विकासमा आफू तत्पर रहेको बताएका छन्। बालेनले भने, ‘गेटाको विषयमा अहिले नै हस्ताक्षर गर्नुपरे पनि तयार छु। कहिले गरौं?’
सांसदहरूले सेती लोकमार्गको निर्माणसम्बन्धी पनि चासो देखाएका थिए। कैलाली–खक्रौला नाकादेखि चीनको सिमाना ताक्लाकोटसम्मको बाटोको निर्माण कार्य अघि बढाउन सुझाव दिएका सांसदहरूसँग प्रधानमन्त्रीले यसबारे गम्भीरता देखाएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया