काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ले अब निर्माण व्यवसायीहरूले कुनै पनि प्रकारको घुस वा अनुचित लेनदेन गरेर ठेक्का नलिने स्पष्ट प्रतिबद्धता जनाएका छन्।
महासंघको २६औँ साधारण सभामा बोल्दै अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेक्का लिँदा वा निर्माण कार्य गर्दा अतिरिक्त पैसा नदिन आग्रह गरेपछि महासंघले देशभरका व्यवसायीलाई सर्कुलर जारी गरेको बताए।
उनले भने, “मन्त्रीज्यूले कर्मचारीसँग अतिरिक्त पैसा दिने गरी सहमति नगर्न आग्रह गर्नुभएको थियो। हामीले महासंघको बैठक बोलाएर देशभरका निर्माण व्यवसायीलाई अनुचित लेनदेन नगर्न निर्देशन दिएका छौं। सरकारले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। हामी यसमा उत्साहित छौं।”
अध्यक्ष सिंहले निर्माण क्षेत्रले ऐन-कानुनको जटिलताका कारण समस्या भोगिरहेको उल्लेख गर्दै सार्वजनिक खरिद ऐनलगायत विभिन्न कानुनलाई एकीकृत गरी ‘छाता ऐन’ बनाउन सरकारसँग माग गरे।
उनले कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्च गर्ने प्रावधान बनाउन, रुग्ण आयोजनाहरूको अवस्था हेरी काम अघि बढाउन र खाडी क्षेत्रको युद्धका कारण निर्माण सामग्री अभाव तथा मनपरी मूल्यवृद्धि भएको गुनासो गरे।
व्यवसायीहरू मुख्य रूपमा भुक्तानी समस्या, सामग्री अभाव र सरकारले समय थप नगर्दा मारमा परेको भन्दै अध्यक्ष रवि सिंह ले तत्काल गर्नुपर्ने र सामान्य अवस्था भएपछि गर्न सकिने योजनालाई वर्गीकरण गरी काम गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया