काठमाडौं । जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले सरकारको आलोचना र सामाजिक सञ्जालमार्फत व्यक्त गरेका धारणा कारण आफूलाई प्रहरीले अपमानजनक ढंगले नियन्त्रणमा लिएको बताएकी छिन्।

मंगलबार आफ्नो पक्राउबारे जानकारी दिँदै स्मृति तिमिल्सिनाले करिब चार घण्टा प्रहरी नियन्त्रणमा राखिएको र सो क्रममा दबाबपूर्ण व्यवहार गरिएको आरोप लगाइन्। ‘सरकारको आलोचना गरेको र चीनसँगको सीमा नाकाबन्दीको विषयमा बोलेको कारणले मलाई नियन्त्रणमा लिइयो,’ उनले भनिन्, ‘मलाई कुनै अपराधीलाई जस्तो व्यवहार गरियो।’

advertisement

उनका अनुसार प्रहरीले सूचना तथा सञ्चार मन्त्रालयको अनुमति बिना सरकारविरुद्ध अभिव्यक्ति दिन नपाइने भन्दै धम्कीपूर्ण शैलीमा सोधपुछ गरेको थियो। साथै, आगामी दिनमा सरकारविरुद्ध नबोल्ने र नलेख्ने सर्त राखेर कागजसमेत गराइएको उनले बताइन्।

तिमिल्सिनाले तातोपानी नाका बन्द भएको विषय श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सार्वजनिक रूपमा उठाएको उल्लेख गर्दै आफूले त्यही सन्दर्भमा धारणा राखेको स्पष्ट पारिन्। ‘हर्क साम्पाङजस्ता व्यक्तिले पनि सीमा र सरकारका विषयमा बोलेका छन्, त्यही आधारमा मैले पनि आफ्नो विचार व्यक्त गरेकी हुँ,’ उनले भनिन्, ‘यदि यही कारणले पक्राउ गर्ने हो भने पहिले उहाँलाई नै गर्नुपर्थ्यो। मैले जे देखेँ र भोगेँ, त्यही बोलेकी हुँ। सत्य बोल्दा पक्राउ गरिन्छ भने यो लोकतन्त्रकै उपहास हो।’

प्रहरी नियन्त्रणबाट मुक्त भएपछि उनले यस घटनाले आफूलाई अझ सचेत बनाएको बताउँदै आगामी दिनमा तथ्यमा आधारित भएर सरकारका गलत कदमहरूको विरोध जारी राख्ने धारणा व्यक्त गरिन्।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com