काठमाडौं। गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममा विपद् उद्धार सीप सम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गरेको बताएका छन्।
गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालसँगको छलफलमा उक्त कार्यक्रम अघि बढाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।
उनले शिक्षा मन्त्रालयसँग समन्वय गरी यो कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना बनाएका छन्। कार्यक्रममार्फत बालबालिकालाई प्राकृतिक विपद्को समयमा सुरक्षित रहने तरिका, प्राथमिक उद्धार सीप र सचेतनामूलक ज्ञान प्रदान गर्ने लक्ष्य राखिएको छ।
गृहमन्त्री गुरुङका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसहित आपत्कालीन अवस्थाको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
सम्बन्धित निकायहरूबीच आवश्यक सहकार्य गरी विपद् उद्धार सीप परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया