काठमाडौं। इजरायल र इरानबीच पश्चिम एशियामा चर्किएको युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा परेको प्रभावले भारतमा व्यावसायिक एलपीजी ग्यास सिलिन्डर र हवाई इन्धनको मूल्यमा भारी वृद्धि भएको छ ।
खाडी मुलुकका धेरै तेल प्रशोधन केन्द्रमा बमबारी हुनुका साथै विश्व तेल आपूर्तिको मुख्य मार्ग हर्मुज नाका प्रभावित भएपछि इन्धनको मूल्य बढेको हो ।
दिल्लीमा १९ केजी क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० रुपैयाँ बढेर २,०७८ रुपैयाँ पुगेको छ भने कोलकातामा २१८ रुपैयाँले बढेको छ ।
त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य पनि ५१ रुपैयाँ बढेर ५४९ रुपैयाँ कायम गरिएको छ ।
यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ ।
दिल्लीमा यसको मूल्य ९१३ रुपैयाँ कायम छ, जुन पछिल्लोपटक गत ७ मार्चमा ६० रुपैयाँले बढाइएको थियो ।
यसैबीच, आजदेखि हवाई इन्धनको मूल्य पनि निकै बढाइएको छ ।
दिल्लीमा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर २,०७,३४१.२२ रुपैयाँ पुगेको छ भने कोलकातामा २,०५,९५३.३३ रुपैयाँ, मुम्बईमा १,९४,९६८ रुपैयाँ र चेन्नईमा २,१४,५९७ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।
यसअघि ८१६ रुपैयाँ रहेको मूल्य बढेर १,६९० रुपैयाँ पुगेको छ ।
पश्चिम एशियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण यो वृद्धि भएको बताइएको छ ।
सरकारले भने देशभर इन्धन आपूर्ति सहज रहेको र पेट्रोल पम्पहरूमा पर्याप्त भण्डारण उपलब्ध रहेको जनाएको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया