जनकपुर। धनुषा जिल्लाको ढल्केबरमा सञ्चालित एक औषधि पसलबाट ठूलो मात्रामा लागूऔषध बरामद गर्दै प्रहरीले फार्मेसी सञ्चालक लाई पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार ढल्केबरस्थित निको फार्मेसी का सञ्चालक ५० वर्षीय रामकुमार महतो पक्राउ परेका छन् । उनी मिथिला नगरपालिका–७, ढल्केबरका स्थानीय बासिन्दा हुन् ।

advertisement

प्रहरीले उक्त फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ता, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्ता लगायतका लागूऔषधजन्य औषधिहरू बरामद गरेको छ । यससँगै नगद १ लाख ३५ हजार रुपैयाँ पनि प्रहरीले जफत गरेको छ ।

यो घटनाको सुरुवात मिथिला नगरपालिका–१० रातोपुलबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना युवालाई शंकास्पद देखेर जाँच गर्दा भएको थियो । उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्ने युवाहरूमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन् ।

ती युवाहरूसँग बरामद भएको लागूऔषधको स्रोत खोज्दै जाँदा प्रहरीको अनुसन्धानले ढल्केबरको निको फार्मेसीसँग जोडिएको खुलेको थियो । त्यसपछि प्रहरी टोलीले फार्मेसीमा छापा मारेर ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै सञ्चालक रामकुमार महतोलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको बताएको छ ।

यो घटनाले स्थानीय स्तरमा फार्मेसीहरूबाटै लागूऔषधको अवैध कारोबार भइरहेको तथ्य उजागर गरेको छ । धनुषा प्रहरीले यस्ता गतिविधिप्रति कडा निगरानी बढाउने र आवश्यक कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com