काठमाडौं। नेकपा एमालेले युवा पुस्ताका प्रतिनिधि सांसद सुहाङ नेम्वाङलाई छोडेर ७० वर्षीय पाका नेता रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाएसँगै पार्टीभित्र व्यापक असन्तुष्टि देखिएको छ ।
युवा नेतृत्वको अपेक्षा गरिरहेका एमाले नेता तथा कार्यकर्ताहरूले यो निर्णयको खुला विरोध गरेका छन् ।
उनीहरूले सामाजिक सञ्जालमा नेतृत्वको आलोचना गरेका छन् भने मसाल जुलुस निकालेर र पुतला जलाएर समेत विरोध प्रदर्शन गरेका छन् ।
बुधबार एमालेको संसदीय दलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको थियो ।
युवा सांसद सुहाङ नेम्वाङले सुरुमा दलको नेताका लागि उम्मेदवारी दिने तयारी गरेका थिए र फाराम समेत भरेका थिए ।
तर अन्तिम समयमा उनले उम्मेदवारी दर्ता गरेनन् । आफ्नो जित सम्भव नदेखेपछि उम्मेदवारी नदिएको सुहाङले स्वयं बताएका छन् ।
दलको नेता चयन भएपछि रामबहादुर थापा बादलले युवा पुस्ता र पार्टी शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गरे ।
उनले यो आफ्नो पहिलो पाइला मात्र भएको बताउँदै देश र जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुहाङ नेम्वाङले पनि नतिजाप्रति असन्तुष्टि नजनाउँदै यो निर्णयलाई स्वीकार गरेको बताए ।
उनले भने, “हामीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्न खोजेका थियौं । कुनै दबाब थिएन ।
नतिजा अपेक्षा अनुसार नभए पनि अर्को उम्मेदवारलाई बढी योग्य ठानेर यस्तो भएको हुन सक्छ ।”
उनले यो परिणामले पार्टीभित्रका कमजोरीहरू सुधार्ने, आत्मसमीक्षा गर्ने र भविष्यमा पार्टी अझ बलियो बनाउने अवसर दिएको बताए ।
तर पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू भने यो निर्णयप्रति खुला रूपमा असन्तुष्ट छन् ।
उनीहरूका अनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेताहरूले सांसदहरूलाई दबाब दिएर बादललाई दलको नेता बनाउन लागिपरेको आरोप छ ।
यो दबाबकै कारण सुहाङले उम्मेदवारी दर्ता नगरेको एमाले उपमहासचिव योगेश भट्टराई र पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले खुलासा गरेका छन् ।
नयाँ संसद्मा अन्य दलका सांसदहरूको बाहुल्य रहेको बेला एमालेले युवा सांसदलाई दलको नेता बनाएर पुस्तान्तरण र रूपान्तरणको सन्देश दिन सकिन्थ्यो भन्ने व्यापक अपेक्षा थियो ।
तर ३६ वर्षीय सुहाङको साटो ७० वर्षीय रामबहादुर थापा बादल चयन भएपछि पार्टीभित्र पुरातन सोच र जडता अझै कायम रहेको टिप्पणी हुन थालेको छ ।
एमाले उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा लेख्दै दलको नेता चयन प्रक्रियाले सिंगो पार्टी पंक्तिलाई चिन्तित बनाएको बताएका छन् ।
उनले भने, “केही दिन समय लिएर सांसदहरूबीच छलफल र समझदारी बनाउने सट्टा दबाब दिएर जे गरियो, त्यो राम्रो भएन ।”
उनले पार्टी अहिले नै बहुआयामिक संकटमा रहेको बेला दबाबपूर्ण तरिकाले नेता चयन गर्दा गल्ती भएको बताए ।
पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाए ।
उनले लेखे, “एक युवा सांसदले प्रतिस्पर्धा गर्न खोज्दा प्रस्तावक र समर्थक समेत नपाउने वातावरण बन्नु लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद हो ।”
पाण्डेले नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा बाँचेको र चुनावी पराजयलाई सामान्य ठानेको भन्दै कडा आलोचना गरे ।
उनले पुरानो ढर्रा र गुटगत घेराबन्दीले अब एमाले चल्न नसक्ने बताए ।
पूर्व सांसद वासुदेव घिमिरेले पनि यो निर्णयले पार्टी सुध्रिने होइन, बरु बिलाउने खतरा रहेको टिप्पणी गरेका छन् ।
यसैबीच, एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरूले बुधबार बेलुका महासचिव शंकर पोखरेलको पुतला जलाएका छन् ।
अमृत साइन्स क्याम्पस कमिटीका कार्यकर्ताहरूले विरोध जुलुस निकालेर पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर नाराबाजी गर्दै पुतला दहन गरेका थिए ।
अनेरास्ववियु अस्कल क्याम्पस कमिटीका अध्यक्ष गोपालजंग शाहीले पार्टी नेतृत्वकै कारण सुहाङले प्रस्तावक र समर्थक समेत पाउन नसकेको भन्दै विरोध गरेको बताए ।
अनेरास्ववियुका सचिवालय सदस्य रुद्रहरि पोखरेलले पनि नेतृत्व र शैली नबदल्ने एमालेको रबैया सचेत युवाहरूलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
उनले “चुनाव नजितेकालाई नेता मान्ने दासताले युवाको प्रतिनिधित्व गर्न सक्दैन” भन्दै आलोचना गरे ।
समग्रमा, रामबहादुर थापा बादल संसदीय दलको नेता बनेसँगै नेकपा एमालेमा युवा पुस्ताको असन्तुष्टि खुलेर बाहिर आएको छ ।
पार्टीभित्र पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नेतृत्व शैलीका विषयमा ठूलो बहस सुरु भएको देखिन्छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार











प्रतिक्रिया