काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ।
महानगरका अनुसार ललितपुरको लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म १६ किलोमिटर लामो उत्तर–दक्षिण रुट तय गरिएको छ।
त्यसैगरी थानकोटबाट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटर लामो पूर्व–पश्चिम रुट सञ्चालन हुनेछ।
यी दुई रुटमा चारवटा विद्युतीय बस रात्रिकालीन सार्वजनिक यातायात सेवामा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार साँझ ८ बजेपछि सार्वजनिक यातायात नचल्ने अवस्थाले यात्रुहरूलाई महँगो विकल्प रोज्न बाध्य बनाइरहेको हुँदा यसलाई सहज बनाउन सेवा सुरु गर्न लागिएको हो। उनले विशेष गरी महिला, किशोरी र विद्यार्थीहरूले भोग्दै आएको समस्या समाधानमा यो सेवा उपयोगी हुने विश्वास व्यक्त गरिन्।
महानगरले यो सेवालाई आधुनिक, सुरक्षित, सहज र दिगो सार्वजनिक यातायात प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि आवश्यक साझेदारीमा सहकार्य गर्न महानगर खुला रहेको पनि डंगोलले स्पष्ट पारिन्।
प्रारम्भिक चरणमा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछन् भने प्रत्येक बस स्टपमा करिब २० मिनेटको अन्तरालमा बस उपलब्ध हुनेछ। यात्रु सुरक्षाका लागि बसमा सीसीटिभी जडान गरिनेछ र नगर प्रहरीको व्यवस्था पनि गरिनेछ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया