काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको पुरानो अध्याय अब नदोहोरिने स्पष्ट घोषणा गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै लामिछानेले यसअघिका सरकारहरूले प्रतिपक्षीलाई प्रतिशोध साध्ने गरेको आरोप लगाउँदै रास्वपा नेतृत्वको सरकारले त्यस्तो गल्ती नदोहोर्याउने बताए ।
उनले भने, “प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको पुरानो अध्याय, शैली अब दोहोरिँदैन । हामी प्रश्न सोधेरै संसदमा आएका हौं र अहिले जवाफ दिने ठाउँमा पुगेका छौं ।”
रवि लामिछानेले प्रतिपक्षी दलहरूलाई पनि गलतलाई गलत र सहीलाई सही भनेर सहयोग गर्न आग्रह गर्दै विश्वास व्यक्त गरे । उनले प्रतिपक्षले सत्तापक्षको राम्रो काममा सहयोग र गल्तीमा खबरदारी गर्ने अपेक्षा राखेको बताए ।
रास्वपा सभापतिको यो भनाइले नयाँ सरकारले विगतका सरकारहरूको जस्तो प्रतिशोधी राजनीति नगर्ने सन्देश दिएको छ । उनको सम्बोधनले संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध कस्तो रहन्छ भन्ने विषयमा चासो बढाएको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया