काठमाडौं। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नेपाली जनताले केवल सरकारको अनुहार फेर्ने मात्र नभई शासन सञ्चालनको शैली, संस्कृति र संस्कारमै ठूलो परिवर्तन खोजेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै केसीले ताजा जनादेशबाट गठित यो संसद् र सरकारप्रति आम नागरिकमा ठूलो आशा, विश्वास र उत्सुकता रहेको उल्लेख गरे ।
उनले भने, “जनताले अब पुरानै शासन सञ्चालनको शैली र संस्कार दोहोरिने होइन, शासन प्रक्रियामै आमूल परिवर्तन चाहेका छन् ।”
केसीले मन्त्रिपरिषद्ले सार्वजनिक गरेको १०० बुँदे शासन सुधार कार्यसूचीको स्वागत गर्दै यसको सफल कार्यान्वयनका लागि समयको सही व्यवस्थापन, पूर्ण समर्पण र निष्पक्षता अनिवार्य रहेकोमा जोड दिए ।
उनले संविधानले परिकल्पना गरेको समावेशी, समानतामूलक र जनसर्वोच्चताको सिद्धान्तलाई सबै राजनीतिक दलहरूले एकजुट भएर कार्यान्वयन गर्नुपर्ने बताए ।
विगतका पटक-पटकका संसद् विघटन र राजनीतिक अस्थिरताले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको स्मरण गर्दै केसीले अब यस्ता प्रवृत्तिमा पूर्णविराम लाग्नुपर्ने बताए ।
उनले संवैधानिक संस्थाहरूको स्वायत्तता र निष्पक्षतामा आएको ह्रासप्रति चिन्ता व्यक्त गरे ।
केसीले संसदीय अभ्यासमा देखिएका कमजोरीले नीति निर्माण र सरकारलाई उत्तरदायी बनाउने प्रक्रियामा अवरोध पुर्याएको उल्लेख गर्दै अब विकास, अर्थतन्त्र र सुशासनसँग जोडिएका विधेयकहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक परिवर्तन पटक-पटक भए पनि शासन पद्धतिमा सुधार नआएको भन्दै नयाँ सरकारले नयाँ कार्यशैली देखाउनुपर्ने बताए ।
पुराना विचार र व्यवहारबाट दिक्क भएका जनतालाई नयाँ संस्कार र संस्कृतिको अनुभूति गराउनु नै यो सदनको मुख्य दायित्व रहेको उनको तर्क छ ।
संसद्लाई सभ्य र मर्यादित बनाउन सबै सदस्यहरूले सभ्य भाषा प्रयोग गर्नुपर्नेमा जोड दिँदै केसीले जनताको आशा र विश्वासलाई व्यावहारिक नीति तथा योजनामार्फत नतिजामा बदल्न सबैलाई आह्वान गरेका छन् ।
केसीको सम्बोधनले नयाँ सरकार र संसद्बाट जनताले ठूलो अपेक्षा गरेको स्पष्ट सन्देश दिएको छ ।
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया