काठमाडौं। नेपालमा मुद्रास्फीति फेरि उकालो लाग्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत पुगेको छ ।

यो दर अघिल्लो आर्थिक वर्षको सोही अवधिको हाराहारी हो ।

advertisement

कात्तिक र मंसिरमा मुद्रास्फीति निकै तल झरेको थियो तर फागुनमा आएर फेरि बढेको देखिएको छ ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ ।

अघिल्लो वर्ष यी दुवै समूहको मुद्रास्फीति क्रमशः ३.३४ र ३.९७ प्रतिशत थियो ।

गत आठ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४.७२ प्रतिशतको तुलनामा निकै कम हो ।

फागुनमा तरकारीको मूल्य ११.४९ प्रतिशत, घिउ तथा तेलको ९.८६ प्रतिशत र फलफूलको ९.६३ प्रतिशत बढेको छ ।

यसैगरी दाल तथा गेडागुडी ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ २.१८ प्रतिशत र मरमसला २.०३ प्रतिशत घटेका छन् ।

गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य सबैभन्दा धेरै २२.८१ प्रतिशत बढेको छ ।

शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पल ४.७३ प्रतिशत र सुर्तीजन्य पदार्थ ३.५७ प्रतिशत बढेका छन् भने बीमा तथा वित्तीय सेवाको मूल्य ०.०३ प्रतिशत घटेको छ ।

प्रदेशगत रूपमा मुद्रास्फीति सबैभन्दा बढी मधेस प्रदेशमा ४.९५ प्रतिशत छ ।

त्यसपछि लुम्बिनी ४.२१, कोशी ३.९६, बागमती ३.३१, गण्डकी २.८७, सुदूरपश्चिम २.२५ र कर्णाली २.२१ प्रतिशत छ ।

ग्रामीण क्षेत्रमा ३.०६ प्रतिशत र शहरी क्षेत्रमा ३.८२ प्रतिशत मुद्रास्फीति रहेको छ ।

इन्धन तथा अन्य आयातित वस्तुको मूल्य बढेसँगै महँगीले फेरि गति लिएको देखिन्छ ।

यसले दैनिक उपभोग्य वस्तुको मूल्यमा थप दबाब पार्ने देखिएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com