काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र नेकपा एमालेभित्र बढ्दो विवादप्रति गम्भीर टिप्पणी गरेका छन्। बिहीबार कमल कोइरालाको स्मृतिग्रन्थ लोकार्पण समारोहमा बोल्दै नेता कोइरालाले ती विवादमा शक्ति केन्द्रको भूमिका रहेको आशंका व्यक्त गरे।
‘अहिले कांग्रेस र एमाले दुवै पार्टीभित्र अचम्मको विवाद छ,’ उनले भने, ‘हामी दुवै पार्टी बडो विचित्र स्थितिमा फसेका छौं। पार्टीलाई मिलाएर अगाडि नबढाए अवस्था धेरै खराब हुनेछ।’
उनले थपे, ‘अब हामीले सोच्नुपर्छ, पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजान सक्यौं भने हाम्रो अस्तित्व सुरक्षित रहन्छ, नभए अप्ठ्यारो अवस्थामा पुग्छौं। यसमा कुनै द्विविधा छैन।’
डा. शेखर कोइरालाले कांग्रेसको विवाद समाधान गर्न आफू प्रयासरत रहेको बताए। मध्यमार्गी धारणा राख्दा काम गर्न कठिनाइ भोग्नुपरेको अनुभव सुनाउँदै उनले भने, ‘मध्यमार्गी व्यक्तिका लागि काम गर्न सधैं चुनौतीपूर्ण हुन्छ, अप्ठ्यारो पर्छ।’
अहिलेको राजनीतिक अवस्था कांग्रेस र एमाले मात्र नभई पुराना सबै दलका लागि असहज भएको नेता कोइरालाले बताए। उनले भने, ‘हालको परिस्थिति, चाहे नेपाली कांग्रेस होस्, एमाले होस्, माओवादी वा अन्य पार्टी, सबैका लागि प्रतिकूल छ। यसलाई हामीले बुझ्नुपर्छ र समाधान खोज्नुपर्छ।’
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया