काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ।
पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुखमा उम्मेदवारी नदिने स्पष्ट पार्दै संसद्मा दुई तिहाइ बहुमत रहेको रास्वपाले उम्मेदवार उठाउनु स्वाभाविक भएको बताए। उनले उक्त उम्मेदवारीप्रति आफ्नो पार्टीको समर्थन रहने पनि उल्लेख गरे।
यसअघि नै रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराइसकेका छन्।
यद्यपि, नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी प्रस्तुत गरेको छ। सहमति जुटेमा उक्त पदमा उम्मेदवारी दिने तयारी रहेको एक नेताले बताएका छन्।
यसैबीच, नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। सत्तापक्षसँग स्पष्ट बहुमत रहेको र सभामुख पद साझा तथा तटस्थ हुने भएकाले उम्मेदवारी नदिने निष्कर्षमा पुगेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया