काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराई ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय र उसको अप्रत्याशित चुनावी सफलताबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजन भट्टराई ले रास्वपाले हासिल गरेको परिणामलाई ‘चमत्कारिक’ भन्दै त्यसको पृष्ठभूमि र कारक तत्वहरूबारे खोजी गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले विभिन्न राजनीतिक पृष्ठभूमिका दलहरूबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि पछिल्लो समय उदाएको शक्तिशाली दलको उदयको शैली नै फरक रहेको उल्लेख गरे। ‘आजको शक्तिशाली दलको उदय असामान्य देखिन्छ, त्यससँग जोडिएका पक्षहरूको विश्लेषण अझै बाँकी छ,’ उनले भने।
भट्टराईले मुलुकको बढ्दो भूराजनीतिक संवेदनशीलताप्रति पनि ध्यानाकर्षण गराउँदै यस्तो अवस्थामा राजनीतिक दलहरूबीच राष्ट्रिय एकता सुदृढ गर्न ढिलाइ गर्न नहुने बताए।
उनका अनुसार, विदेश नीति जस्तो संवेदनशील विषयमा खुला बहस र दलहरूबीच संवाद अपरिहार्य छ। ‘आन्तरिक रूपमा प्रतिस्पर्धा र मतभेद हुनु स्वाभाविक हो, तर बदलिँदो विश्व परिवेशमा राष्ट्रिय एकता कायम गर्न सबै दलले साझा पहल गर्नुपर्छ,’ उनले जोड दिए।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार













प्रतिक्रिया