काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ। सर्वोच्च अदालतले आजका लागि पेसी तोके पनि इजलास निर्धारण नभएकाले सुनुवाइ हुन सकेन।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता दिएको निर्णयविरुद्ध शेरबहादुर देउवा समूह अदालत गएको हो। यसअघि अदालतले सोही विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिसकेको थियो।

advertisement

२०८२ माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश नदिने निर्णय गर्दै निर्वाचन आयोग लगायत सम्बन्धित पक्षलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो। त्यसअनुसार आयोग, कांग्रेस केन्द्रीय कार्यालय तथा सभापति थापाको तर्फबाट लिखित जवाफ दर्ता भइसकेपछि पुनः सुनुवाइका लागि पेसी तय गरिएको थियो।

विशेष महाधिवेशनमार्फत थापा–विश्वप्रकाश शर्मा समूहले नयाँ कार्यसमिति चयन गरेपछि पार्टीभित्र आधिकारिकताको विवाद उत्पन्न भएको हो। सोही विषयमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दायर गरेका थिए।

उक्त रिट खड्का र देउवा पक्षका तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठमार्फत दर्ता गरिएको हो। निवेदनमा निर्वाचन आयोगको निर्णय खारेज गर्न र नयाँ कार्यसमितिलाई अवैधानिक घोषणा गर्दै विघटन गर्न माग गरिएको छ।

देउवा पक्षले नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै त्यसलाई सुरुदेखि नै अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com