काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक छोटो, संयमित र सहमतिको वातावरणमा सम्पन्न भएको छ। सभामुख चयनका लागि बोलाइएको बैठक करिब २७ मिनेटमै टुंगिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएपछि बैठक समापन गरिएको हो। बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्वाचन प्रक्रिया अघि बढाउँदै अर्यालको मात्र उम्मेदवारी परेको जानकारी गराएका थिए।
प्रस्तावकका रूपमा रवि लामिछानेले संक्षिप्त सम्बोधन गर्दै सबै दलको सहमतिमा उम्मेदवारी टुंगिएको अवस्थामा अनावश्यक रूपमा समय खर्च गर्नु उपयुक्त नहुने बताए। उनले अर्यालको क्षमता र इमानदारिताले संसद्को गरिमा अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
समर्थकका रूपमा बोलेका सांसद सुनील लम्सालले पनि छोटो मन्तव्य राख्दै अर्यालप्रति पूर्ण समर्थन जनाएका थिए।
यसैक्रममा सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय अभ्यास, निष्पक्षता र सभामुखको भूमिकाबारे प्रकाश पार्दै अर्यालले सन्तुलित नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले पूर्व सभामुखहरू कृष्णप्रसाद भट्टराई र दमननाथ ढुंगानाले स्थापित गरेका मानकहरूलाई स्मरण गर्दै त्यसबाट सिक्नुपर्नेमा जोड दिए।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जनताका वास्तविक समस्यालाई संसद्को केन्द्रमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै सभामुखले त्यसमा सहजीकरण गर्ने अपेक्षा व्यक्त गरिन्।
बैठकको अन्त्यमा ज्येष्ठ सदस्य केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे। प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया