काठमाडौं। सरकारले अनलाइन सट्टेबाजीसम्बन्धी सात हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी अवैध रूपमा सञ्चालन भइरहेका सात हजारभन्दा बढी सट्टेबाजीका एप र वेबसाइट पहिचान गरेर बन्द गरेको हो ।

advertisement

प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार पछिल्लो एक सातामा मात्र सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासा प्राप्त भएका थिए । ती गुनासालाई सम्बोधन गर्दै प्राधिकरणले तत्काल कारबाही अघि बढाएको छ ।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले पारित गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख थियो । सोही निर्णयअनुसार प्राधिकरणले काम गरेको हो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन निषेध गरिएको छ । यसको उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफतसहित एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

सरकारले नागरिकहरूलाई अनलाइन सट्टेबाजीका एप तथा वेबसाइट प्रयोग नगर्न पुनः आग्रह गरेको छ । शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न पनि अनुरोध गरिएको छ ।

अनधिकृत रूपमा सट्टेबाजी सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी सरकारले दिएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com