काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छैन। अमेरिकामा बस्ने एक नेपाली युवतीले आरोप लगाएपछि उनलाई पक्राउ गरिएको भए पनि औपचारिक जाहेरी नपरेकाले उक्त मुद्दा अघि नबढाइएको हो।
हाल सागर लम्साल लाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ। प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ। स्रोतका अनुसार जाहेरी नपरेको अवस्थामा हिरासतमा राख्नकै लागि यो कसूर आकर्षित गरिएको हुन सक्छ।
प्रहरीले म्याद थप गरी अनुसन्धान अगाडि बढाउँदा सो अवधिभित्र थप विवरण खुल्ने वा औपचारिक जाहेरी आउने अपेक्षा गरेको छ।
कानुनी व्यवस्था अनुसार बलात्कारको घटना जहाँ घटेको हो, त्यहीँको प्रहरीले अनुसन्धान गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्छ। यस घटनामा भने आरोप लगाउने युवतीले घटना अमेरिका भएको दाबी गरेकी छिन्। नेपाली नागरिक संलग्न रहेको र घटना विदेशमा भएको अवस्थामा भने नेपालमै मुद्दा चलाउन सकिने प्रावधान छ।
यदि पीडितले औपचारिक जाहेरी दिइन् भने ‘बले’ विरुद्ध काठमाडौंमै मुद्दा चल्न सक्नेछ। हाल भने सामाजिक सञ्जालमा आएको आरोपकै आधारमा पक्राउ गरिएको र आवश्यक परे थप अभियोग लगाउने तयारी प्रहरीको रहेको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया