काठमाडौं। इरानले जनवरी महिनामा भएको विरोध प्रदर्शनमा संलग्न दुई पुरुषलाई मृत्युदण्ड दिएको छ ।
मिजान न्यूजका अनुसार मोहम्मदमिन बिगलारी र शाहिन वाहदपरस्तलाई सैन्य प्रतिष्ठानमा प्रवेश गर्ने र हतियार चोरी गर्ने आरोपमा मृत्युदण्ड दिइएको हो । उनीहरूलाई हिंस्रक झडपमा संलग्न भएको र हतियार तथा सैन्य सामग्री चोरी गरेर सर्वसाधारणको हत्या गर्ने योजना बनाएको आरोप लगाइएको थियो ।
इरानको सर्वोच्च अदालतले दुवैको सजाय कायम राखेको थियो । मानवअधिकार संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार यो मुद्दामा चार जनालाई मृत्युदण्डको सामना गर्नुपर्ने थियो ।
गत हप्ता मात्र इरानले १८ वर्षीय अमिरहोसेन हतामी नामका युवालाई पनि सोही विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्ड दिएको थियो ।
एम्नेष्टी इन्टरनेशनलले हालै जारी गरेको रिपोर्टमा इरानमा थप ११ जना पुरुषहरू शीघ्र मृत्युदण्डको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । उनीहरूमाथि जबरजस्ती अन्यायपूर्ण मुद्दा चलाइएको र गम्भीर यातना दिइएको संस्थाले आरोप लगाएको छ ।
यो घटनाले इरानमा विरोध प्रदर्शनलाई दबाउन सरकारले अत्यधिक कडा दमनको नीति अपनाइरहेको देखाएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया