काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ४२औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रममा अस्पताल परिसरमा नवनिर्मित इन्ट्रा युटेरीन इन्सेमीनेसन (आइयुआइ) र इन्भीट्रो फर्टीलाईजेसन (आइभिएफ) ल्याबको उद्घाटन गरियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले अस्पतालको मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई इलेक्ट्रोकन्भल्सीभ थेरापी(इसीटी) मेसिन हस्तान्तरण गरे। उनले अस्पतालको वार्षिक स्मारिका ‘अस्पताल दर्पण–२०८२’ को पनि लोकार्पण गरे ।
कार्यक्रममा विशेषज्ञ चिकित्सक तथा अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गरियो ।
प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास र विस्तारमा अग्रजहरूको योगदानको प्रशंसा गरे ।
उनले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनको स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिनुपर्ने बताउँदै चिकित्सक र सेवाग्राहीबीच भावनात्मक सम्बन्ध विकास गर्दै आत्मीय र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिए ।
“प्रहरीको काम संवेदनशील र जोखिमपूर्ण हुन्छ ।
त्यसैले स्वास्थ्य सम्बन्धी गुनासालाई उचित सम्बोधन गर्दै अस्पताललाई सेवाग्राहीमैत्री र व्यावसायिक बनाउनुपर्छ,” कार्कीले भने।
उनले विगतका कमीकमजोरी सुधार गर्दै अस्पतालको स्तरोन्नति र दीर्घकालीन विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले टीभी र ईसीजी मेसिन हस्तान्तरण गरिन्।
संघका पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूलसमेत वितरण गरे।
नेपाल प्रहरी अस्पताल का मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन निरन्तर प्रयासरत रहेको बताए ।
समारोहमा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य राखे भने प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया