काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरेको छ। सेवा प्रवाहमा देखिँदै आएका समस्या, ढिलासुस्ती तथा नागरिकका गुनासोलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज सार्वजनिक गरेको सूचनाअनुसार अब सेवाग्राहीहरूले मन्त्रालयअन्तर्गतका काम–कारबाही, सेवा प्राप्तिका प्रक्रिया तथा प्राप्त नतिजासँग सम्बन्धित गुनासो सिधै राख्न सक्ने व्यवस्था गरिएको छ। यस व्यवस्थाले नागरिकलाई आफ्ना समस्या सहज रूपमा अभिव्यक्त गर्न र समाधान खोज्न थप अवसर प्रदान गर्ने विश्वास मन्त्रालयको छ।
गुनासो व्यवस्थापन केन्द्र मार्फत प्राप्त हुने गुनासोहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी छिटो छरितो रूपमा समाधान गर्ने लक्ष्य राखिएको छ। साथै, गुनासोको अवस्थाबारे सेवाग्राहीलाई जानकारी गराउने प्रणालीसमेत विकास गरिने जनाइएको छ, जसले सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार, यस केन्द्रले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। सरकारी सेवा प्रभावकारी बनाउन तथा नागरिकमैत्री प्रशासन विकास गर्ने दिशामा यो पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
मन्त्रालयले सबै सेवाग्राहीलाई आफ्ना गुनासा निडर रूपमा राख्न आग्रह गर्दै प्राप्त सुझाव र प्रतिक्रियालाई नीतिगत सुधारका लागि उपयोग गरिने स्पष्ट पारेको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया