काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा गैरकानुनी तथा उच्छृङ्खल गतिविधिमा संलग्न ७६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक शान्ति भंग गर्ने, गुण्डागर्दी गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गएको बिहीबार र शुक्रबार सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती होटल वा सवारी साधन प्रयोग गर्न बाध्य पार्ने बिचौलियादेखि सार्वजनिक स्थलमा विदेशी तथा सर्वसाधारणसँग अश्लील गतिविधिका लागि मोलतोल गर्ने व्यक्तिसम्म रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ७० जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने ३ जनामाथि जुवा र ३ जनामाथि लुटपाट तथा चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया