काठमाडौ । रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले लगातार दोस्रो जितसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को तालिकामा शीर्ष स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ। बेंगलुरुले आइतबार एम चिन्नास्वामी रंगशालामा चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको हो।
बेंगलुरुले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनायो। चेन्नईका लागि सर्फराज खानले २५ बलमा ८ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे। यसैगरी प्रशान्त वीरले ४३, जेमी ओभरटनले ३७, अन्शुल कम्बोजले अविजित १९ र शिवम दुबेल १८ रन बनाए।
बेंगलुरुका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने क्रुनाल पान्ड्या, अभिनन्दन सिंह र ज्याकब डफीले २–२ तथा सुयश शर्माले १ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर २५० रन बनाएको थियो। बेंगलुरुका लागि टिम डेभिडले २५ बलमा ८ छक्का र ३ चौकाको मद्दतले अविजित ७० रन बनाए। देवदत्त पडिक्कलले २९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कप्तान रजत पाटिदारले अविजित ४८, फिल साल्टले ४६ र विराट कोहलीले २८ रन बनाए।
चेन्नईका लागि अन्शुल कम्बोज, जेमी ओभरटन र शिवम दुबेले १–१ विकेट लिए।
यस जितसँगै बेंगलुरुले २ खेलमा ४ अंक जोडेको छ भने तीनै खेलमा पराजित चेन्नई बिना अंक तालिकाको अन्तिम स्थानमा रहेको छ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया