काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल गर्ने केही संस्थागत विद्यालयको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा शिक्षा विनियमावली र सर्वोच्च अदालतको हालैको आदेशको उल्लङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र अत्यधिक शुल्क असुल गर्ने गरेको पाइएको उल्लेख गरेको छ ।
मन्त्रालयले सबै विद्यालयलाई नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न आग्रह गरेको छ ।
साथै, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ बमोजिम तोकिएको शुल्कबाहेक अन्य कुनै पनि शुल्क नअसुल्न निर्देशन दिएको छ ।
मन्त्रालयले अभिभावकबाट गैरकानुनी रूपमा असुल गरिएको भर्ना शुल्क तत्काल फिर्ता गर्न सम्बन्धित स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
तोकिएको समयभित्र शुल्क फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन तथा अन्य प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनी पनि दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “विद्यालय सञ्चालन जस्तो गरिमामय र जिम्मेवार क्षेत्रमा यस्ता गैरकानुनी कार्य अशोभनीय मात्र होइन, दण्डनीय पनि हुन्छ ।” मन्त्रालयले विद्यालयहरूलाई यस्ता कार्यबाट सजग रहन ध्यानाकर्षण गराएको छ ।
यो आग्रहसँगै नयाँ सत्रअघि नै भर्ना खोल्ने र मनपरी शुल्क असुल्ने प्रवृत्तिमा रोक लगाउने प्रयास गरिएको छ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया