काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा गरिएको कारबाही अस्वीकार्य भएको उल्लेख गर्दै यस्तो कदम तुरुन्त सच्याउनुपर्ने बताए। उनले सरकारको कदम गैरकानुनी र अन्यायपूर्ण भएको आरोप लगाउँदै लोकतन्त्रमा प्रतिशोधको राजनीति सह्य नहुने धारणा व्यक्त गरे।
सांसद महरले विधिको शासन कायम गर्न सबै नागरिकलाई समान व्यवहार गरिनुपर्नेमा जोड दिँदै राज्यका निर्णयहरू निष्पक्ष र न्यायपूर्ण हुनुपर्ने बताए।
यसका साथै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति पनि आपत्ति जनाए। उक्त कार्यसूचीअन्तर्गत विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको भन्दै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने माग गरे।
उनले विद्यार्थी आन्दोलनलाई नेपालको लोकतान्त्रिक संघर्षको आधारशिला भन्दै त्यसलाई सीमित गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया